सन् २०२३ को महत्वपूर्ण अन्तर्राष्ट्रिय घटनाक्रम


१. भारत बन्यो विश्वकै सबै भन्दा बढी जनसंख्या भएको देश


यस वर्षको शुरूमै भारतको जनसंख्याले चीनलाई उछिनेको छ । अहिले भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र संघको जनसंख्या कोष (युएनएफपीए)को विश्व जनसंख्या प्रतिवेदन २०२३ अनुसार भारतको अनुमानित जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख छ भने, चीनको अनुमानित जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ ।


२. टर्की र सिरियाको विनाशकारी भूकम्प


२०२३ को फेब्रुअरी ६ मा टर्की, सिरिया र अन्य छिमेकी देशहरूमा गएको विनाशकारी भूकम्पले ६७ हजार मान्छेको ज्यान लिएको थियो । उक्त भूकम्पमा परी मानवीय सँगै अर्बौं भौतिक संरचना नष्ट भएको थियो । हजारौं भवनहरू भग्नावशेष भएका थिए भने त्यहाँ दशौँ हजार मानिस फँसेका थिए । टर्कीमा उक्त भू-कम्पलाई सन् १९३९ यताकै ठूलो भूकम्प मानिन्छ ।


३ अन्तरिक्षमा प्रतिस्पर्धा


२०२३ को एउटा महत्त्वपूर्ण र सम्झनलायक घटना अन्तरिक्ष यात्रामा भएको ठूलो प्रतिस्पर्धा हो । विभिन्न देश र निजी कम्पनीहरूले अन्तरिक्ष यात्राका लागि ठूलो होडबाजी गरेका छन् । विश्वका ७७ देशमा अन्तरिक्ष एजेन्सीहरू छन् भने तीमध्ये १६ सँग अन्तरिक्षमा मानव र अन्य पेलोड पठाउने क्षमता छ । भारतले चन्द्रमामा मानवरहित यान पठाउने चौथो र दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ । नासाले सन् २०२५ सम्म चन्द्रमामा मानिस पठाउने योजना बनाएको छ । एलोन मस्कको स्पेस एक्स जस्ता अन्य धेरै निजी एजेन्सीहरूले अन्तरिक्ष पर्यटनका लागि योजनाहरू सार्वजनिक गरेका छन् ।

४. टाइटन पनडुब्बी दुर्घटना


गत जुन १८ मा उत्तरी एटलान्टिक महासागरमा ५ जना पर्यटक बोकेको टाइटन नामको पनडुब्बी दुर्घटनामा परेर सबैको ज्यान गयो । सय वर्ष अघि डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न उक्त पनडुब्बीमार्फत पर्यटकहरू गएका थिए । समुद्री सतहबाट १२ हजार फीटमा रहेको टाइटानिकको अवशेष हेर्न जाने क्रममा भएको दुर्घटना विश्वव्यापी चासोको विषय बनेको थियो ।


५. अजरबैजान-अर्मेनिया युद्धमा अर्मेनियाको हार


सोभियत संघको पतन पछि अजरबैजान र अर्मेनियाले अजरबैजानको एक प्रान्त नागोर्नो-काराबाखलाई लिएर लड्दै आएका थिए । मुख्यतया: जातीय हिसाबले आर्मेनियालीहरूको बसोबास रहेको उक्त क्षेत्रलाई अर्मेनियाले नियन्त्रणमा राखेको थियो । २०२३ को सेप्टेम्बर १९ मा अजरबैजानी सेनाले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिन हमला शुरू गरेको थियो र अर्मेनियालाई हराएको थियो ।

६. सुडानमा पुनः गृहयुद्ध शुरू


सन् २०२३ मा सुडान एक लोकतान्त्रिक राष्ट्र बन्ने अपेक्षा गरिएको थियो । तर सुडान पुनः गृहयुद्धमा फंस्यो । गत १५ अप्रिलमा शुरू भएको गृहयुद्धमा सेनासँग प्यारामिलिटरी फोर्स लडिरहेको छ । १२ वर्षअघि गृहयुद्धकै कारण दुई टुक्रामा विभाजित भएको सुडानमा पुनः गृहयुद्ध चर्किएको हो ।


७. पाकिस्तानमा इमरान शासनको अन्त्य र नवाज सरिफको कमब्याक


सन् २०२२ र २०२३ को शुरुवाती महिना पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानको निकै व्यस्त समय थियो । अप्रिल २०२२ मा अविश्वास प्रस्तावद्वारा पाकिस्तानको प्रधानमन्त्री पदबाट हटाइएपछि क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनलाई तोशाखाना मुद्दामा हिरासतमा राखियो । यसैबीच, परिस्थितिले लन्डनमा चार वर्ष निर्वासनमा बिताएका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई फर्कन सम्भव बनायो ।


तोशाखाना मुगल राज्यका शासकहरूले प्राप्त गरेको उपहारहरू संग्रह गर्ने ठाउँ हो । यसलाई खजाना घर पनि भनिन्छ । त्यसैको हिनामिनाको केसमा खान हिरासतमा पुगेका हुन् ।


८. २०२३ : रुस-युक्रेन युद्धको दोस्रो वर्ष


रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति दुवै देशबीच चर्को लडाईं चलिरहेको छ । युक्रेन पनि पछि नहट्ने मुडमा छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभले मस्कोको सुरक्षा चासोलाई ध्यानमा राखेर सम्झौता नगरेसम्म युद्ध जारी रहने बताएका छन् ।


९. कृत्रिम बौद्धिकताको विकास


सन् २०२३ मा भाषा मोडेलमा आधारित कृत्रिम बौद्धिकतासम्बन्धी ठूला प्रविधिहरू विकास भएका छन् । यसबाट विश्वका करोडौंले फाइदा लिन शुरू गरेका छन् । यस्तो कृत्रिम बौद्धिकताले मानव जाति समृद्धिको नयाँ युगमा प्रवेश गर्छ वा भविष्यमा डरलाग्दो परिणाम दिन्छ भन्ने बारेमा गहन छलफलहरू निम्त्याएको छ ।


१०. सबै भन्दा तातो वर्ष


सन् २०२३ सबैभन्दा तातो वर्ष बनेको छ । विगत १ लाख २५ हजार वर्षमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष २०२३ बनेको हो । जनवरी र नोभेम्बरको बीचमा विश्वको औसत तापक्रम १५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । यो पूर्व औद्योगिक युगको तापक्रम भन्दा १ दशमलव ४६ सेल्सियस बढी हो । यसैको नतिजाले जंगलमा आगो लाग्ने, बाढी आउने, खडेरी लाग्नेदेखि लिएर अन्य घटनाहरू विश्वमा घटेका छन् ।


११. इजरायल हमास लडाईं


गत अक्टोबरमा शुरू भएको इजरायल-हमास द्वन्द्वमा झन्डै २०,००० प्यालेस्टाइनीको मृत्यु भएको छ र दशौं हजार बढी घाइते भएका छन् । गाजा क्षेत्रका करीब २० लाख जनता विस्थापित भएका छन् । हमासले गत अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अप्रत्यासित आक्रमणको विरुद्धमा इजरायलले सैन्य कारवाही गरेको थियो ।


साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url